Sunday, 14 April 2019

नयाँ वर्ष २०७६: तीब्रतर विकासका लागि दृढ इच्छा मात्रै आवश्यक

१ वैशाख २०७६,
काठमाण्डौं, नेपाल।

२०७५ राजनीति संक्रमण अन्त्यको वर्ष थियो। लामो समयको राजनीतिक संक्रमण अन्त्यपछि तीनै तहमा निर्वाचित सरकार त्यो पनि दुई तिहाईको।
यो अभूतपूर्व अवसर सरकारको नेतृत्व गरिरहेको नेकपा र प्रधानमन्त्री केपीशर्मा ओलीका लागि थियो। एक वर्षको अवधिमा सरकारले अभूतपूर्व अवसरलाई उपयोग गर्न असफलनै रह्यो। ०६२/०६३को जनआन्दोलनको जगमा स्थापित भएको सरकारको दायित्व राजनीतिक विषय सकिएपछि आर्थिक विकासलाई प्रभावकारी रुपमा अघि बढाउनु थियो। तर त्यसमा सरकार चुकेकै हो।
तर विकासका मुद्दाबाट टाढा भाग्न सक्ने अवस्था थिएन र त्यसलाई सुस्त गतिबाटै भएपनि अघि बढ्नुलाई सकारात्मक रुपमै लिनुपर्छ।०७५ सालमा तीन तहका सरकारबीचको समन्वयको अभावले समेत विकासलाई प्रभावकारी रुपमा अघि बढाउन सकेन् त्यस कारण नागरिकमा केही असन्तोष पैदा भए। तर तीन तहको सरकारबीचको असमझदारी केही हटेको छ। राजनीतिक संक्रमणपछि आर्थिक संक्रमणको सबैभन्दा ठूलो समस्याबाट मुलुकले पार पाउँदैछ। तीन तहका सरकारबीचको समन्वयको वातावरण बन्दै जानु विकासका लागि सुखद पाटा पनि हुन्।
त्यसलै नयाँ वर्ष २०७६ सालमा तीब्रतर विकासका लागि मार्गप्रशस्त भएको छ। गत वर्ष केही ठूला पूर्वाधार आयोजनाले उत्साहित समेत बनाएका छन्। गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम झण्डै ७० प्रतिशत भन्दा बढी सकिइसकेको छ। यो अन्तर्राष्ट्रिय विमानस्थल असारसम्म संचालनमा ल्याउने गरि काम भइरहेको छ। सरकारले यो विमानस्थल निर्माणमा देखाएको सकृयता र इच्छाशक्ति सराहनीय छ।
नेपालको पर्यटन क्षेत्रमा यो विमानस्थलले गेमचेन्जरको भूमिका खेल्नसक्नेछ। यो वाहेक निजगढ अन्तर्राष्ट्रिय विमानस्थलमा समेत विदेशी लगानीकर्ताले समेत चासो देखाएको र सरकारले समेत प्राथमिकतामा राखेकोले यसले पनि ब्रेक थ्रु पाउने सम्भावना छ। विकासका ठूला परियोजना कार्यान्वयनका लागि निश्चित समयसीमा तोकेर अघि बढ्नेतर्फ सरकारले ध्यान केन्द्रित गरेमा मुलुकको विकासले सही बाटो लिनेछ।
सरकारका ठूला परियोजना मात्रै होइन निजी क्षेत्रले समेत ठूला परियोजनामा लगानी गर्न तयार भएर बसेका छन्। मुलुकभित्र उद्योग/व्यवसाय गरेर बसिरहेका ठूला घराना जसले दीर्घकालिन रुपमै औद्योगिकरणमा प्रभाव पार्ने उद्योग लगाउन तयार छन्। सरकारले आश्वस्त बनाउन सकेमा कर तिरेर ठूलो मुनाफा लिएर बसेका समूहको लगानी आउनेछ। त्यस्ता लगानीलाई उत्प्रेरित गर्न सकेमा स्वदेशी लगानीकर्ताको समेत मनोबल बढ्नेछ।
सरकार र निजी क्षेत्रको उत्साहको पृष्ठभूमीलाई ध्यानमा राख्ने हो भने नयाँ वर्षमा प्रवेश गर्दा हाम्रो विकासको यात्राले उत्साहजनक फड्को मार्ने देखिन्छ। तर यो सपना पूरा गर्न आवश्यक दृढ इच्छाशक्ति चाहिन्छ। सरकार व्यवहारमै विकास एजेण्डा कार्यान्वयन गर्ने र निजी क्षेत्रको लगानी उत्साहित गर्नेतर्फ लक्षित बनोस् २०७६ सालको यही हार्दिक शुभकामना।

सन्दर्भ सामाग्रीः
- बिजमाण्डू

No comments:

Post a Comment